एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार सम्पन्न खेलमा चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोडे। उनले चार छक्का र एक चौका प्रहार गर्दा मैदानमा दर्शकको हुटिङ गुञ्जिएको थियो। त्यस्तै, लोकेश बमले २६ र बसिर अहमदले १३ रन बनाए। तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा विराटनगर लक्ष्यसम्म पुग्न सकेन।

चितवनका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। रिजन ढकालले दुई विकेट हात पारे भने टम टेलर, डान मोस्ली, मौसम ढकाल र रञ्जितकुमारले एक–एक विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

चितवनका लागि इंग्ल्यान्डका डेविड मलानले अर्धशतकसहित सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। रवि बोपाराले ३२ तथा डान मोस्लीले अविजित २९ रन बनाए। देव खनालले १२ रनको योगदान दिए।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए। यो जितसँगै चितवनले एनपीएलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।