गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ, म्याद थप्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ, म्याद थप्ने तयारी

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यमा ढिलाइ भएको छ। आगामी पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम पूरा भएको छ। निर्माणको बाँकी काम निर्धारित समयभित्र सकिने अवस्था नदेखिएपछि निर्माण कम्पनीले म्याद थपका लागि पहल गर्ने तयारी गरेको छ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा ढिलाइ हुँदा निर्माण कम्पनीले केही समय काम रोकेको थियो। यसले सम्झौताअनुसार निर्माण कार्य अघि बढ्न नसकेको उनले बताए। रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारबाट ७० प्रतिशत र भरतपुर महानगरपालिकाबाट ३० प्रतिशत रकम भुक्तानी हुने गरी सम्झौता गरिएको छ। प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको पोखरेलको भनाइ छ।

निर्माण कम्पनीले पनि काममा ढिलाइ गरेको र विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्या देखिएकाले पुस मसान्तसम्म निर्माण सम्पन्न हुने सम्भावना न्यून रहेको उनले बताए। निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले निर्माण सामग्रीको मूल्यवृद्धि, मौसममा आएको परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्दा काम प्रभावित भएको बताए। पुरानो संरचनामा निर्माण कार्य गर्दा प्राविधिक निर्णयहरूबीच समन्वय नमिल्दा थप समस्या आएको उनको भनाइ छ।

मैदान निर्माण मुख्य चुनौती

रंगशालाको निर्माणमा अहिले सबैभन्दा बढी काम मैदानमा बाँकी छ। भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार मैदानमा चार तह माटो राख्ने र त्यसमा पाइप जडान गर्ने काम गर्न बाँकी छ। त्यसपछि नरम माटो राखेर ‘बरुणा’ नामको घाँस रोपिनेछ।

रंगशालाका दुईवटा टावरको निर्माण अन्तिम चरणमा पुगेको छ। चारवटा प्यारापिटमध्ये दुईवटाको काम सम्पन्न भइसकेको छ। तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम पूरा भएको आचार्यले जानकारी दिए। विद्युत् जडानको काम पनि बाँकी छ। निर्माण कम्पनीले नियमित रूपमा काम गरेमा बाँकी काम पूरा गर्न धेरै समय नलाग्ने उनको भनाइ छ। हाल निर्माणस्थलमा दैनिक करिब ८० जना कामदार परिचालित छन्। दसैँको समयमा पनि निर्माण कार्य जारी रहेको उनले बताए।

लागत ७८ करोडबाट बढेर ८६ करोड रुपैयाँभन्दा बढी

निर्माण अवधि सकिन लाग्दा रंगशालाको पहिलो भेरिएसन अर्डर (भीओ) असोज २८ गते स्वीकृत भएको छ। सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

लागत वृद्धि हुनुका साथै निर्माण गर्नुपर्ने कामसमेत थपिएकाले निर्धारित समयमै आयोजना सम्पन्न गर्न कठिन भएको निर्माण कम्पनीको भनाइ छ। सम्झौताको अवधि सकिनुअघि नै म्याद थपका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेकाले निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग म्याद थपको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रदेश र महानगरको साझेदारीमा निर्माण

भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँगको सहकार्यमा विसं २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरी रंगशाला निर्माणको काम अघि बढाएको थियो। यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण कार्यलाई निरन्तरता दिन नसक्ने जनाउँदै आयोजनाको दायित्व महानगरपालिकालाई हस्तान्तरण गरेको थियो। त्यसपछि प्रदेश सरकारको ७० प्रतिशत र महानगरपालिकाको ३० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण पुनः सुरु गरिएको थियो।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण भइरहेको बताउँदै निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न आग्रह गर्दै आएको जानकारी दिए।

गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिलाइ भए पनि अन्य काममा महानगरपालिकाले सहजीकरण गरेको उनको भनाइ छ। ‘रंगशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौँ, अब धेरै ढिलो हुँदैन,’ अधिकारीले भने।

चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राइनोज रहेको र नेपाल प्रिमियर लिग (एनपीएल) प्रति आकर्षण बढ्दै गएको अवस्थामा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न रंगशाला छिटो सम्पन्न गर्नुपर्ने दबाब बढेको छ।

क्रिकेटको लोकप्रियता बढिरहेका बेला भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न रंगशाला निर्माण चाँडै सम्पन्न गर्ने लक्ष्यमा महानगरपालिका रहेको अधिकारीले बताए।