

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। टस जितेर लुम्बिनीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको हो।
सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए। त्यस्तै, ईशान पाण्डेले ३३ बलमा २७ रन जोडे। उनी १४.१ ओभरमा रनआउट भए। थारिन्दु रत्नायके एक रनमा आउट हुँदा विनोद भण्डारी र थनुका दबारेले समान तीन रन बनाए। जर्ज मन्से पहिलो बलमै आउट भए।
लुम्बिनीका रुबेन ट्रम्पेलम्यान र शेर मल्लले समान दुई विकेट लिए। ट्रम्पेलम्यानले चार ओभरमा १४ रन खर्चिए भने शेर मल्लले चार ओभरमा २७ रन दिए। त्यस्तै, अभिषेक गौतमले चार ओभरमा ११ रन खर्चेर एक विकेट लिए। किशोर महतोले पनि एक विकेट हात पारे।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ। इलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। एनपीएलको फाइनल मंसिर ५ गते हुनेछ।