

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो । पहिलो क्वालिफायरमा लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
लुम्बिनीले लिग चरणमा पाँच खेल जित्दा एक खेलमा हार र एक खेलमा अंक बाँडेको थियो । ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी पहिलो क्वालिफायरमा पुगेको हो । लिग चरणमा लुम्बिनी काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको थियो ।
त्यस्तै, पाँच खेल जितेको सुदूरपश्चिमले दुई खेलमा हार व्यहोरेको थियो । १० अंक जोड्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर मंसिर १ गते मंगलबार हुनेछ । यस खेलको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको अर्को अवसर पाउनेछ ।
प्लेअफमा पुगेका अन्य दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज हुन् । चार खेल जितेर आठ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रह्यो । तीन खेल जितेको चितवनले एक खेलमा अंक बाँड्दै सात अंकसहित चौथो स्थान हासिल गरेको छ ।
काठमाडौं र चितवनबीचको एलिमिनेटर खेल बुधबार हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । बिहीबार हुने दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । एनपीएलको तेस्रो संस्करणको फाइनल खेल शनिबार हुनेछ ।