

काठमाडौँ । स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले सोमबार मन्सेलाई प्लेअफ खेलका लागि टोलीमा भित्र्याएको जानकारी दिएको हो । आक्रामक ओपनिङ ब्याटर मन्सेले स्कटल्याण्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उनको टी–२० अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शनमध्ये एक हो । त्यस्तै, सन् २०२५ मा सोही टोलीविरुद्ध १९१ रन बनाउँदै उनले एकदिवसीय क्रिकेटमा एसोसिएट राष्ट्रका ब्याटरको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान कायम गरेका थिए ।
मन्सेले स्कटल्याण्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयमा तीन शतक र १९ अर्धशतकसहित उनले दुई हजार ७७७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा तीन शतक र १४ अर्धशतकसहित उनको नाममा दुई हजार ५९८ रन छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको आगमनले टोलीको ब्याटिङ पक्ष थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट तथा विभिन्न फ्रेन्चाइज लिगको अनुभव र एनपीएलमा खेलिसकेको अनुभवले टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।
टोलीमा आबद्ध भएपछि मन्सेले पुनः नेपालमा खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । गत संस्करणमा नेपालको क्रिकेट वातावरण र समर्थकबाट राम्रो अनुभव प्राप्त गरेको उल्लेख गर्दै उनले सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका छन् ।