

दैलेख । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक कलहको उत्कर्षमा पुगेको दाबी गरेका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले रास्वपाभित्रको शक्ति संघर्षका कारण राज्यका निकायहरू विभाजित र कमजोर बनेको बताए।
राज्यका निकायलाई आफ्नो प्रभावमा पार्ने विषयमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा भइरहेको उनको आरोप थियो। यसले राष्ट्रियता कमजोर बनाउनुका साथै राज्यका स्थापित संस्थाहरूलाई अस्तव्यस्त बनाएको उनले बताए।
रास्वपाभित्रको विवाद उत्कर्षमा पुग्दै जाँदा कुनै पनि बेला प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई पक्राउ गर्न सक्ने वा लामिछानेले बालेनलाई प्रधानमन्त्रीबाट हटाउन सक्ने अवस्था आउन सक्ने पुनको दाबी थियो।
‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ। कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन,’ उनले भने।
नेता पुनले सरकारको गति संविधान र व्यवस्था खारेज गर्ने तथा प्रतिक्रान्तिको बाटोमा अघि बढ्ने दिशामा रहेको आरोप लगाए। त्यसलाई रोक्न र राष्ट्रियता बलियो बनाउन वामपन्थीबीच एकता तथा संविधान मान्ने लोकतान्त्रिक दलहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
‘वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण गर्ने तथा संविधान मान्नेहरूबीच सहकार्य आवश्यक छ। एमालेसँग सहकार्य गर्नैपर्छ। खराब प्रवृत्ति र फासिस्ट कार्यशैलीबारे समीक्षा गर्दै सहकार्य गर्दै जानुपर्छ। देशको स्वाधीनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नैपर्नेछ,’ उनले भने।
सहकार्य र एकताका लागि एमालेका नेताहरू अहिले निकै हतारिएको र विभिन्न भेटघाटमा उनीहरूले त्यस्तो धारणा व्यक्त गर्ने गरेको पनि पुनले बताए।
सुशासन र समृद्धिको बाटोमा नेपाली कम्युनिस्ट पार्टी पनि अघि बढोस् भन्ने जनताको चाहना रहेको उल्लेख गर्दै उनले सोहीअनुसार पार्टीले वैज्ञानिक समाजवादको लक्ष्य बोकेर अघि बढेको बताए। वैज्ञानिक समाजवादसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुँजीवादीहरूले पनि लोककल्याणकारी राज्य र समाजवादका आर्थिक तथा सामाजिक कार्यक्रम अवलम्बन गरेको उनको भनाइ थियो।
विश्वभर क्रान्तिकारी आन्दोलनलाई शिथिल बनाउने रणनीति असफल भएको उल्लेख गर्दै पुनले कम्युनिस्टहरूले पनि आफ्ना कार्यक्रम परिमार्जन र रूपान्तरण गर्दै जनतामाझ जाने नीति लिएको बताए। प्रतिस्पर्धाबाट निर्वाचित भएर समाजवादतर्फ अघि बढ्ने रणनीति कम्युनिस्टहरूले बनाएको उनले उल्लेख गरे।