

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। उक्त मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा तोकिएको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
आफूलाई कुनै पूर्वसूचना नदिई र सुनुवाइको मौका नै नदिई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न माग गरेका छन्। साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।