एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर, ९३ लाख बिगो मागदाबी

एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर, ९३ लाख बिगो मागदाबी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भनिएको आर्थिक अनियमितता, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउँदै ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।

प्रतिवादीमध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार रहेको जनाइएको छ। एन्फामा भएको भनिएको आर्थिक अनियमितता, खेलमा मिलेमतो र फिफा विश्वकपका टिकटको अपचलनसम्बन्धी अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

अभियोगपत्रमा प्रतिवादीहरूबाट कुल ९३ लाख ९०० रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फामा भएको भनिएको आर्थिक अनियमिततालगायतका विषयमा अनुसन्धान गरेको थियो।

नेपाल-बहराइन खेल सारेर २० हजार डलर अपचलन गरेको आरोप

अभियोगपत्रअनुसार, फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको खेल नियतवश बहराइनमा सारिएको आरोप लगाइएको छ।

उक्त खेल बहराइनमा आयोजना गरेबापत त्यहाँको फुटबल संघबाट एन्फाले टिकट बिक्रीको राजस्वस्वरूप पाउनुपर्ने २० हजार अमेरिकी डलर संस्थाको बैंक खातामा दाखिला नगरी अपचलन गरिएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै, १० लाख रुपैयाँभन्दा बढीको खरिदमा अनिवार्य रूपमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै एउटै स्वामित्वका तीनवटा नक्कली फर्म खडा गरी कोटेसनमार्फत खेल सामग्री खरिद गरिएको आरोप पनि लगाइएको छ। एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार १० लाख रुपैयाँभन्दा बढीको खरिदमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने व्यवस्था छ।

विश्वकपका ३३० टिकट पारदर्शी रूपमा वितरण नगरेको आरोप

फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएका ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबजारी तथा व्यक्तिगत रूपमा किनबेच गराइएको पनि अभियोगपत्रमा उल्लेख छ।

यसैगरी, शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताअनुसार एन्फाको खातामा जम्मा हुनुपर्ने रकम संस्थाको खातामा दाखिला नगरी महासचिव किरण राईले २५ लाख रुपैयाँ व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको आरोप लगाइएको छ।

अध्यक्ष र महासचिवविरुद्ध म्याद जारी गर्न माग

सरकारी वकिलको कार्यालयले फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईका हकमा अदालतबाट म्याद जारी गर्न अनुरोध गरेको छ। चारै जना प्रतिवादीविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा परिभाषित खेलमा मिलेमतो तथा अनियमिततासम्बन्धी कसुर र दफा ३२ को खण्ड (ग) बमोजिम सजायको मागदाबी गरिएको छ। साथै, मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा दफा २४९ को उपदफा (३) को खण्ड (क) बमोजिम सजाय गर्न माग गरिएको छ।

९३ लाख ९०० रुपैयाँ क्षतिपूर्ति भराउन माग

अभियोगपत्रमा एन्फालाई अमेरिकी डलर ५० हजारको नेपाली रुपैयाँबराबर ६६ लाख ५३ हजार ९०० र अमेरिकी डलर २० हजारको नेपाली रुपैयाँबराबर २६ लाख ४७ हजार गरी कुल ९३ लाख ९०० रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

उक्त रकम सन् २०२४ मार्च ४ को विनिमय दर प्रतिअमेरिकी डलर १३२ रुपैयाँ ३५ पैसाका आधारमा गणना गरिएको अभियोगपत्रमा उल्लेख छ। सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम क्षतिपूर्ति भराउन माग गरेको हो। त्यसैगरी, अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गराउन पनि माग गरिएको छ।

थप संलग्नता खुलेमा थप अभियोग लगाइने

अनुसन्धानका क्रममा अन्य पदाधिकारी, कर्मचारी वा व्यक्तिको संलग्नता रहेको यकिन प्रमाणसहित खुलेमा थप अभियोग दाबी लिइने सरकारी वकिलको कार्यालयले जनाएको छ। यसका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम प्रक्रिया अघि बढाइने अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै, प्रतिवादीहरूले कसुरजन्य कार्यबाट सम्पत्ति आर्जन गरी अन्यत्र प्रयोग गरेको तथ्य प्रमाणबाट पुष्टि हुने अवस्था आएमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान गरिने जनाइएको छ।

नोट: माथि उल्लेखित विषयहरू सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा आधारित आरोप तथा मागदाबी हुन्। प्रतिवादीहरूको दोष अदालतबाट प्रमाणित हुन बाँकी छ।