

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
हालै एसीसी प्रिमियर कप जितेको टोलीमा केही परिवर्तन गर्दै क्यानले नन्दन यादव र साहब आलमलाई टोलीमा समेटेको छ। चोटका कारण प्रिमियर कपमा सहभागी हुन नसकेका नन्दनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
यसपटक पनि स्टार ओपनर कुशल भुर्तेलले एकदिवसीय टोलीमा स्थान बनाउन सकेनन्। नेदरल्यान्ड्समा भएको लिग–२ शृङ्खलामा कमजोर प्रदर्शनपछि राष्ट्रिय टोलीबाट बाहिरिएका भुर्तेललाई ‘नेपाल ए’ टोलीमा पठाइएको थियो। अस्ट्रेलियामा भएको टप एन्ड टी–२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्लो एसियाली खेलकुदमा उनको ब्याटबाट अपेक्षित प्रदर्शन हुन सकेको थिएन।
यसैगरी, अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख र भीम सार्की पनि यसपटक टोलीमा परेका छैनन्।
टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसीलगायत अनुभवी खेलाडीका साथै अर्जुन कुमाल, नन्दन यादव र शेर मल्ललाई समेटिएको छ।
आईसीसीको हालको कार्यतालिकाअनुसार ओमानमा हुने यस लिग-२ शृङ्खलामा नेपालले क्यानडा र ओमानसँग खेल्नेछ। नेपालका खेल अक्टोबर ११, १३, १७ र १९ मा हुने कार्यतालिका छ।
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल।