

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँगको क्वाटरफाइनल खेल खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएको छ। नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको हो।
प्रतियोगिताको नियमअनुसार खेल हुन नसकेपछि सम्बन्धित चरणमा उच्च वरीयताको टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधानका आधारमा श्रीलंका अन्तिम चारमा पुगेको हो। नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। तर नागोयामा लगातार भइरहेको वर्षाका कारण खेल सञ्चालन हुन सकेन।
यसअघि शनिबार नेपाल र आयोजक जापानबीचको समूह चरणको खेल पनि वर्षाका कारण पूरा हुन सकेको थिएन। उक्त खेल रद्द भएपछि नेपाल समूह विजेता बनेको थियो। नेपाल प्रतियोगिताबाट बाहिरिएसँगै सेमिफाइनलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।