

लन्डन । म्यानचेस्टर सिटी प्रिमियर लिगका नौ सिजनसँग सम्बन्धित गम्भीर आर्थिक नियम उल्लंघनका सबै आरोपमा दोषी ठहर भएको छ। प्रिमियर लिगले मंगलबार स्वतन्त्र आयोगको निर्णय सार्वजनिक गर्दै सिटीमाथि अनुसन्धानमा सहयोग नगरेको सम्बन्धमा लगाइएका अधिकांश आरोपमा समेत क्लब दोषी ठहर भएको जनाएको छ।
सिटीमाथि सन् २००९/१० देखि २०१७/१८ सिजनसम्म वित्तीय विवरण तथा आम्दानी-खर्चसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा सन् २०२३ को फेब्रुअरीमा औपचारिक अभियोग लगाइएको थियो। चार वर्ष लामो अनुसन्धानपछि उक्त विषय स्वतन्त्र आयोगसमक्ष पुगेको थियो।
आयोगले सिटीले केही व्यावसायिक साझेदारसँग ‘शाम’ (वास्तविकतासँग मेल नखाने) व्यावसायिक सम्झौता गरेको निष्कर्ष निकालेको छ। प्रिमियर लिगका अनुसार यस्ता व्यवस्थामार्फत क्लबको आम्दानी कृत्रिम रूपमा बढाइएको र खर्च घटाइएको थियो, जसको कुल प्रभाव ९० करोड पाउन्डभन्दा बढी रहेको आयोगले ठहर गरेको छ।
आयोगको निष्कर्षअनुसार केही प्रायोजक कम्पनीले सम्झौतामा उल्लेखित रकमको एक अंश मात्रै तिर्ने र बाँकी रकम क्लबको स्वामित्वसँग सम्बन्धित अबुधाबी युनाइटेड ग्रुपमार्फत व्यहोर्ने व्यवस्था गरिएको थियो। यस्तो व्यवस्थाले क्लबको वास्तविक वित्तीय अवस्थालाई फरक रूपमा प्रस्तुत गर्न सहयोग पुगेको आयोगको निष्कर्ष छ।
प्रिमियर लिगका अनुसार आयोगले सिटीले अनुसन्धानमा सहयोग नगरेका सम्बन्धमा लगाइएका अधिकांश आरोपमा समेत दोषी ठहर गरेको छ। तर, आयोगले दोषी ठहर गरे पनि सिटीमाथि तत्काल कुनै सजाय तोकिएको छैन। अब क्लबलाई हुने कारबाही र सम्भावित सजायबारे छुट्टै निर्णय हुन बाँकी रहेको प्रिमियर लिगले जनाएको छ।
म्यानचेस्टर सिटीले भने आयोगको निष्कर्ष अस्वीकार गरेको छ। क्लबले आफूलाई लगाइएका आरोपमा निर्दोष रहेको दाबी गर्दै निर्णयप्रति ‘निराश र आश्चर्यचकित’ भएको जनाएको छ। साथै निर्णयविरुद्ध उपलब्ध पुनरावेदनका सबै विकल्प प्रयोग गर्ने बताएको छ। क्लबले आयोगको निष्कर्षमा कानुन, सिद्धान्त र तथ्यसम्बन्धी गम्भीर त्रुटि रहेको दाबी गरेको छ।
प्रिमियर लिगले सिटीलाई आयोगको निर्णयविरुद्ध अक्टोबर २ सम्म पुनरावेदन गर्ने समय दिएको छ। सन् २००८ मा अबुधाबीको स्वामित्वमा आएपछि म्यानचेस्टर सिटीले इंग्लिस फुटबलमा आफ्नो प्रभाव विस्तार गरेको छ। पछिल्ला १५ वर्षमा क्लबले आठ प्रिमियर लिग, चार एफए कप र सात लिग कप जितेको छ भने सन् २०२३ मा पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो।