

काठमाडौँ । यस वर्षको विजयादशमीको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका लगाउँदा पश्चिम मोहडा गरेर बस्नुपर्ने समितिले जनाएको छ। अर्थात् टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्केर टीका थाप्नुपर्नेछ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि उक्त समय निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताएका छन्। उनका अनुसार राज्य सञ्चालकले भने समितिले तोकेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्नेछ।
नेपालका विभिन्न भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। केही स्थानमा भने विजयादशमीका दिन मात्रै टीका लगाउने चलन रहेको छ।
यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्र सुरु हुनेछ। नवरात्रको पहिलो दिन घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको समितिले जनाएको छ। चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष भट्टराईले बताएका छन्।
असोज २६ गते सोमबार झण्डा फेर्ने साइत बिहान १०ः०७ बजे रहेको छ। झण्डा फेर्दा पनि पश्चिम मोहडा गर्नुपर्ने समितिले जनाएको छ।
असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुनेछ। असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ। सोही दिन बिहान ७ः३७ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजे रहेको छ। कात्तिक १ गते आइतबार महाअष्टमी र सोही राति कालरात्रि पर्व मनाइनेछ। कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि परेको छ। कात्तिक ३ गते मंगलबार महानवमी पर्व परेको समितिले जनाएको छ।
कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ। सो दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ भने बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत रहेको छ। त्यसै दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत र बिहान ११ः५२ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको छ। खड्गयात्रा पनि विजयादशमीकै दिन हुनेछ।
कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ। सोही दिन कोजाग्रत व्रत तथा पूर्णिमा व्रत परेको छ। बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा-आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ। कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।
नेपालमा राष्ट्रिय पर्वका रूपमा मनाइने दसैँमा देशभर उल्लासमय वातावरण बन्ने गर्छ। विभिन्न पेसा तथा व्यवसायका क्रममा आफ्नो थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न घर फर्किने गर्छन्।
दसैँमा विशेषगरी नवदुर्गा भवानीको पूजा–आराधना गरिन्छ। यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ भने विभिन्न स्थानमा बलिसहित पूजा गर्ने परम्परा पनि छ। दसैँ नजिकिएसँगै बजारमा समेत चहलपहल बढ्न थालेको छ। सरकारले दसैँका बेला उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन सुपथ मूल्य पसलसमेत सञ्चालन गर्दै आएको छ।
दसैँमा बालबालिकाले पिङ खेल्ने तथा चङ्गा उडाउने भएकाले यो पर्व उनीहरूका लागि विशेष रमाइलोको अवसरसमेत बन्ने गरेको छ। नेपाली समाजमा दसैँलाई बालबालिकाले विशेष रूपमा रमाइलो गर्ने पर्वका रूपमा लिइन्छ।