कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी, केन्द्रीय समिति २९७ सदस्यीय

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी, केन्द्रीय समिति २९७ सदस्यीय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको फाराम पूर्ण रूपमा भर्नुपर्ने तथा तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दर्ताका क्रममा सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई तोकिएको शुल्क बुझाएर रसिद लिने र त्यसपछि निर्वाचन समितिमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

कांग्रेसले १५औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था थप गरिएको छ । अब कांग्रेसमा उपसभापतिको संख्या चार पुगेको छ । त्यस्तै महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ भने एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

यसैगरी दुई खुला सहमहामन्त्रीको पद थप गरिएको छ । संशोधित विधानअनुसार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाइएको हो । यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो ।

कांग्रेसले महाधिवेशन प्रतिनिधिको संख्या र समावेशी सहभागिता बढेसँगै पार्टीको केन्द्रीय संरचनालाई पनि सोहीअनुसार विस्तार गरिएको जनाएको छ ।