

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेर २ हजार ५७८ अंकमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुल २७९ कम्पनीमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार भएका अधिकांश समूहगत सूचक बढेका छन् । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ समूह ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ र व्यापार समूह ०.८२ प्रतिशतले बढे ।
निर्जीवन बीमा समूह ०.०६ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ०.१७ प्रतिशतले घटेको छ ।
आज त्रिशूली जलविद्युत्को सेयर मूल्य ५.११ प्रतिशत बढेको छ । त्यस्तै सालपाका विकास बैंक ३.७७, हाथवे इन्भेस्टमेन्ट ३.६५, बुटवल पावर ३.५७ र लिबर्टी इनर्जीको सेयर मूल्य ३.५० प्रतिशतले बढेको छ ।
उता सर्वोत्तम पेन्ट्सको सेयर मूल्य ४.९४ प्रतिशत, चिरख्वा हाइड्रोपावर ३ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहे ।