

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ।
त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने तथा संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिष्ट्रार तथा डिम्याट खातालगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको छ।
कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित उद्योगी-व्यवसायीहरूको समेत लगानी रहेको जनाइएको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्।
काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी हुन सहज पहुँच प्रदान गर्ने उद्देश्यले सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेसनलका देशभरका विभिन्न शाखामार्फत समेत विभिन्न सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
यसबाट देशका विभिन्न भूभागमा रहेका लगानीकर्तालाई पूँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच पुर्याउनुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कारको विकासमा योगदान पुग्ने कम्पनीको विश्वास छ।