सरकारले सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने

सरकारले सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने

काठमाडौँ । सरकारले सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरिएको हो।

अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा मूल्यवृद्धि भएका पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डन्डीका हकमा १५ चैत २०८२ पछि पनि कार्यसम्पादन अवधि कायम रही सञ्चालनमा रहेका सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वास्तविक र प्रमाणित खपतका आधारमा मात्र विशेष मूल्य समायोजनको रकम निर्धारण गरिनेछ। सालबसाली तथा मूल्य समायोजनको व्यवस्था नभएका ठेक्कासमेत तोकिएको मापदण्ड पूरा गरेमा यस व्यवस्थामा समेटिनेछन्।

मूल्य समायोजनको व्यवस्था भएका ठेक्काका हकमा भने प्रचलित व्यवस्था तथा सम्झौताबमोजिम प्राप्त हुने मूल्य समायोजन रकम घटाएर बाँकी योग्य रकममात्र विशेष मूल्य समायोजनका रूपमा उपलब्ध गराइनेछ।

मन्त्रालयले सामान्य बजार उतारचढावका कारण भएको मूल्यवृद्धि भने यस व्यवस्थामा समेटिने जनाएको छ। असाधारण परिस्थितिबाट सिर्जित मूल्यवृद्धिलाई मात्र सम्बोधन गरिने र वास्तविक खपत, प्रमाणित परिमाण तथा सम्बन्धित मूल्यका आधारमा रकम निर्धारण गरिने भएकाले दोहोरो लाभ वा अनावश्यक भुक्तानी हुन नदिने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिँदा विकास आयोजना प्रभावित हुन नदिन, चालु आयोजनालाई निरन्तरता दिन तथा निर्माण क्षेत्रमा सिर्जित असन्तुलनलाई न्यायोचित रूपमा सम्बोधन गर्न विशेष मूल्य समायोजनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

निर्माण व्यवसायीहरूले लामो समयदेखि मूल्य समायोजनको माग गर्दै आएका थिए। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत समेत सार्वजनिक निर्माणका ठेक्कामा मूल्य समायोजनसम्बन्धी व्यवस्था गर्ने घोषणा गरेको थियो।