नेप्सेमा दोहोरो गिरावट, २० अंकले घट्यो परिसूचक; कारोबार ३ अर्बमा सीमित

नेप्सेमा दोहोरो गिरावट, २० अंकले घट्यो परिसूचक; कारोबार ३ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा झरेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ३.२३ अंक, फ्लोट इन्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ९० लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ।

स्ट्यान्डर्ड चार्टर्ड डिबेञ्चरमा उच्च वृद्धि

सोमबारको ‘टप गेनर्स’ सूचीको शीर्ष १० मा अधिकांश ऋणपत्र रहेका छन्। १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै, १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आईएमई समुन्नत योजना–२ को मूल्य करिब ५ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएको त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।

घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१२ उपसमूहमा गिरावट

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूह मात्र बढेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढ्दा वित्त उपसमूह १.१० प्रतिशतले घटेर सबैभन्दा कमजोर बनेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।