

कास्की । बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्ला केही दिनयता दैनिक करिब ३०० पर्यटक एबिसी पुगिरहेका छन्।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको रोजाइ अन्नपूर्ण आधार शिविरतर्फ बढेको हो।
‘अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। स्वदेशी पर्यटक छैनन् तर विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ। यहाँ आउने सबै सडक खुलेका कारण पदयात्रा सहज भएको छ,’ गुरुङले भने।
एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज छन्। ती होटलमा करिब ३५० जनासम्मलाई आवासको व्यवस्था गर्न सकिने क्षमता रहेको समितिले जनाएको छ।
यसअघि निरन्तरको वर्षा तथा बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदमार्ग प्रभावित हुँदा पर्यटन गतिविधि प्रभावित भएको थियो। अन्नपूर्ण क्षेत्रको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानका कारण लामो समय सडक अवरुद्ध भएको थियो। गाउँपालिकाले करिब डेढ महिनाको प्रयासपछि असोजको पहिलो साता सडक सञ्चालनमा ल्याएको हो।
मनाङ र मनास्लु क्षेत्रमा जाने केही सडक तथा पदमार्ग पहिरोका कारण अझै प्रभावित रहेकाले ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेको गुरुङले बताए।
‘मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ। त्यसकारण पनि दक्षिण एसियाली मुलुकका पर्यटकको रोजाइ एबिसीमा बढेको हो। नेपाली पर्यटक भने दसैँ सुरु भएपछि आउने अपेक्षा गरेका छौँ,’ उनले भने।
अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्नसमेत सहज भएको छ। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरा–घान्द्रुक–एबिसीसम्मका सडक सञ्चालनमा आएका छन्।
‘बिरेठाँटी र स्याउली बजार खुल्यो। घान्द्रुकबाट माथि पनि अब समस्या छैन। एबिसी ट्रेकतर्फ आउने स्थायी र अस्थायी सबै सडक खुलेका छन्। नयाँपुल, घान्द्रुक र छोम्रोङ हुँदै आउन सकिन्छ,’ उनले भने।
किम्रुङ खोलाले करिब दुई महिनाअघि पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध भएको पदमार्गसमेत खोलामाथि काठे फड्के निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
समुद्री सतहबाट करिब ४ हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर हिमालको काखबाट अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले विश्वका चर्चित पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।
माछापुच्छ्रे आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो। पदयात्राका क्रममा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलगायत हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ।
एबिसी पदयात्रामा गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला तथा हिमाली भू–दृश्यको समेत अनुभव गर्न पाइन्छ। विशेषगरी हिमालको नजिकबाट सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ।
पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले पदयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। केन्द्रबाट एबिसी र माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा प्राथमिक उपचार सेवा उपलब्ध हुनेछ।
उच्च उचाइका कारण लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिँदा केही पर्यटकलाई गम्भीर समस्या हुने गरेका कारण प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।