

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ । उहाँ यसअघि बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो ।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव हासिल गर्नुभएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गर्नुभएको थियो । उहाँ सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध हुनुहुन्छ ।
लामो बैंकिङ यात्राका क्रममा उहाँले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ हाल बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा समेत कार्यरत हुनुहुन्थ्यो ।
अकेलाले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ । उहाँले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ ।
अकेलाको लामो अनुभव, जोखिम व्यवस्थापनसम्बन्धी दक्षता तथा समग्र कार्यसञ्चालन क्षमताले आगामी दिनमा बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ ।
यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’लगायत प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।