दसैँ-तिहारका लागि अग्रिम टिकट असोज २३ देखि, भाडा नबढ्ने

दसैँ-तिहारका लागि अग्रिम टिकट असोज २३ देखि, भाडा नबढ्ने

काठमाडौं । दसैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको यातायात व्यवसायी तथा सरोकारवाला निकायको संयुक्त बैठकले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

बैठकले फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सवारीसाधनका लागि देशभर रुट परमिट खुला गर्ने निर्णयसमेत गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए ।

चाडपर्वका समयमा सडकमा हुने यातायातको चाप व्यवस्थापन गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोकालगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकता दिने निर्णय भएको छ ।

यात्रु ठगी तथा कालोबजारी रोक्न र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा बसपार्कमा सहायता कक्ष स्थापना गरिने महानिर्देशक पोखरेलले बताए ।

यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दसैँ–तिहारका बेला सार्वजनिक सवारीसाधनको भाडा नबढाउने प्रतिबद्धता जनाएका छन् । यात्रुलाई पूर्वनिर्धारित भाडादरमै सेवा दिने व्यवस्था मिलाइने उनले बताए ।

वर्षा तथा प्राकृतिक विपद्का कारण विभिन्न स्थानका सडक बिग्रिएकाले जोखिमपूर्ण अवस्थामा सवारी नचलाउन चालकहरूलाई आग्रह गरिएको सिटौलाले बताए ।

उनका अनुसार बीपी राजमार्गमा यातायातको चाप कम गर्न दुईपाङ्ग्रे लगायतका सवारीसाधनलाई कान्तिपथ वा अन्य वैकल्पिक मार्गबाट पठाउने विषयमा पनि छलफल भएको छ ।

सिटौलाले सातवटै प्रदेश तथा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित यातायात व्यवस्थापन समितिले सम्बन्धित सडकको अवस्था अध्ययन गरी कुन-कुन मार्गमा सवारी सञ्चालन गर्न सकिने वा नसकिने भन्नेबारे आवश्यक निर्णय गर्ने बताए ।