

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। अघिल्लो दिन बिहीबार सामान्य अंकले बढेको बजारले शुक्रबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.८० अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५० अंकले वृद्धि भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल ५२ हजार ४४ पटकको कारोबारबाट ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँको सेयर किनबेच भएको हो।
कुथेली बुखरीको मूल्य सर्वाधिक बढ्यो
शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ। अघिल्लो दिन उक्त कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। यस दिन सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, कारोबारमा आएको रिज लाइन इनर्जीको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ।
कारोबारमा कुमारी बैंक अगाडि
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिस्टिलरीको करिब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सबै उपसमूह हरियो
शुक्रबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। बैंकिङ उपसमूह सर्वाधिक १.२८ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक पनि करिब १ प्रतिशतले वृद्धि भएको छ। बाँकी उपसमूहका परिसूचकमा भने सामान्य सुधार देखिएको छ।