महिला आर्थिक सशक्तीकरणमा जोड दिँदै एसबिआई मर्चेन्ट बैंकिङद्वारा वित्तीय साक्षरता कार्यक्रम

महिला आर्थिक सशक्तीकरणमा जोड दिँदै एसबिआई मर्चेन्ट बैंकिङद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले काठमाडौंको गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

महिलाको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ५० भन्दा बढी महिला प्रौढ विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीलाई बचतको महत्त्व, व्यक्तिगत वित्तीय व्यवस्थापन, दीर्घकालीन लगानी, नेपालको पुँजी बजार, डिम्याट खाता, मेरो सेयर तथा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो।

विभिन्न उमेर समूहका महिलालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्नुका साथै लगानीसम्बन्धी सचेतना र जिम्मेवार वित्तीय व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमको सहजीकरण नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका संस्थागत परामर्श प्रमुख अरुण श्रेष्ठले गरेका थिए। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित, सहप्रधानाध्यापक उर्मिला प्रधान, व्यवस्थापन पक्षका प्रतिनिधि तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका लगानी प्रमुख उत्सव तुलाधरको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक पण्डितले विभिन्न पुस्ताका महिलालाई लक्षित गरी प्रदान गरिएको वित्तीय शिक्षाले उनीहरूको आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम आयोजना गरेकोमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडप्रति आभारसमेत व्यक्त गरिन्।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रतिनिधिहरूले वित्तीय रूपमा सचेत र सक्षम नागरिक निर्माणका लागि वित्तीय साक्षरता अपरिहार्य रहेको बताए। विशेषगरी महिलालाई औपचारिक वित्तीय प्रणाली तथा पुँजी बजारसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनीहरूको भनाइ थियो।

चेतना महिला माध्यमिक विद्यालयले विगत २२ वर्षभन्दा बढी समयदेखि विभिन्न उमेर समूहका महिलालाई कक्षा १ देखि १० सम्म निरन्तर शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका महिला स्थानीय तहको नेतृत्व, उद्यमशीलता, स्वास्थ्य सेवा तथा अन्य विभिन्न पेसा व्यवसायमा आबद्ध भई आत्मनिर्भर नागरिकका रूपमा स्थापित भएका छन्।

हाल विद्यालयमा १६० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दैनिक रूपमा करिब १२० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

विश्व लगानी सप्ताह २०२६ को अवसरमा आयोजित यस कार्यक्रमले महिलाको वित्तीय पहुँच विस्तार, आर्थिक आत्मनिर्भरता अभिवृद्धि तथा पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।