विश्व लगानीकर्ता सप्ताह: विद्यार्थी र लगानीकर्तालाई वित्तीय साक्षरता

विश्व लगानीकर्ता सप्ताह: विद्यार्थी र लगानीकर्तालाई वित्तीय साक्षरता

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज प्रा. लि. (स्टक ब्रोकर नं. ६४) ले वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चारवटा कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले २०८३ साल असोज २१ देखि २३ गतेसम्म लगानीकर्ता अन्तरक्रिया, विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा, लगानीकर्ता भेटघाट तथा चियापान र ब्रोकर भिजिट कार्यक्रम सञ्चालन गरेको हो।

पुँजी बजारसम्बन्धी सही जानकारी प्रवाह गर्ने, लगानीकर्ताको वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्ने तथा विद्यार्थीलाई लगानीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमअन्तर्गत असोज २१ गते सन सेक्युरिटिजको कार्यालयमा लगानीकर्ता अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्टक मार्केट विश्लेषक पुरुषोत्तम चिमोरिया र अस्तित्व शर्माले नेपालको पुँजी बजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती, लगानी रणनीति र जोखिम व्यवस्थापनका विषयमा सहभागीहरूसँग छलफल गरेका थिए।

अन्तरक्रियामा सहभागी लगानीकर्ताले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै पुँजी बजारसम्बन्धी जिज्ञासा राख्ने र लगानीका विभिन्न पक्षबारे आफ्नो बुझाइ स्पष्ट पार्ने अवसर पाएका थिए।

यसैगरी, असोज २२ गते ललितपुरको ग्वार्कोस्थित सुप्रभात कलेजका विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। कक्षामा बचतको महत्त्व, व्यक्तिगत वित्तीय व्यवस्थापन, पुँजी बजारको आधारभूत जानकारी, सेयर बजारमा लगानी गर्ने प्रक्रिया, लगानीका अवसर तथा जोखिम र विवेकपूर्ण लगानी निर्णयका विषयमा जानकारी प्रदान गरिएको थियो।

विद्यार्थीमा वित्तीय अनुशासन र जिम्मेवार लगानीसम्बन्धी सोच विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले उनीहरूलाई आर्थिक व्यवस्थापन तथा लगानीसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सोही दिन कम्पनीले लगानीकर्ता भेटघाट तथा चियापान कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा नेपालको पुँजी बजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती र भावी लगानी रणनीतिबारे छलफल गरिएको थियो। सहभागी लगानीकर्ताले आफ्ना अनुभव, विचार तथा जिज्ञासा आदानप्रदान गरेका थिए।

उक्त कार्यक्रमले लगानीकर्ता र ब्रोकर कम्पनीबीचको सम्बन्ध सुदृढ बनाउँदै सूचित तथा जिम्मेवार लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

त्यस्तै, असोज २३ गते क्वेस्ट इन्टरनेसनल कलेजका विद्यार्थीका लागि सन सेक्युरिटिजको कार्यालयस्थित ट्रेडिङ हलमा ब्रोकर भिजिट कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीले धितोपत्र दलाल कम्पनीको कार्यप्रणाली, सेयर कारोबार प्रक्रिया, अनलाइन कारोबार प्रणाली, लगानीकर्तालाई प्रदान गरिने सेवा तथा नेपालको पुँजी बजारको व्यावहारिक पक्षबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए।

कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्ने र विद्यार्थीलाई पुँजी बजारको वास्तविक कार्यप्रणालीसँग परिचित गराउने उद्देश्यले ब्रोकर भिजिट आयोजना गरिएको कम्पनीले जनाएको छ।

चारवटै कार्यक्रम सन सेक्युरिटिजका कर्मचारी विवेक अधिकारी, दीपक राज पन्त, दिपेश न्यौपाने र राहुल थापालियाको सहजीकरणमा सम्पन्न भएका थिए। उनीहरूले सहभागीलाई पुँजी बजारका आधारभूत अवधारणा, लगानी प्रक्रियाका व्यावहारिक पक्ष, वित्तीय साक्षरताको आवश्यकता तथा जोखिम पहिचान र व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरेका थिए।

विश्व लगानीकर्ता सप्ताहका अवसरमा आयोजित कार्यक्रमले विद्यार्थी तथा लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्नुका साथै पुँजी बजारप्रति सकारात्मक र जिम्मेवार दृष्टिकोण विकास गर्न तथा सूचित लगानी निर्णयलाई प्रोत्साहन गर्न योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सन सेक्युरिटिजले आगामी दिनमा पनि वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपालको पुँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।