

काठमाडौं । नेपालमा करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघ (डब्लुटीए) को सल्लाहकार बोर्डमा नियुक्त भएका छन्।पोल्यान्डको क्राकोमा आयोजित विश्व करदाता संघको साधारणसभा तथा सम्मेलनका क्रममा गैह्रेलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको हो। उक्त सम्मेलन सन् २०२६ अक्टोबर ५ मा सम्पन्न भएको थियो।
गैह्रेको नियुक्तिले नेपालको करदाता अधिकारसम्बन्धी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ। साथै, नेपालमा करदाता अधिकारको संरक्षण, कर प्रशासन सुधार तथा न्यायोचित कर प्रणाली निर्माणका लागि भइरहेका प्रयासलाई अन्तर्राष्ट्रिय बहससँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विश्वका पाँचभन्दा बढी देशका करदाता संगठनलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्जाल डब्लुटीएले करदाताको अधिकार संरक्षण, न्यायोचित कर प्रणाली, सार्वजनिक खर्चमा पारदर्शिता तथा सरकारलाई उत्तरदायी बनाउने अवधारणाको प्रवर्द्धन गर्दै आएको छ।
गैह्रे नेपाल करदाता कल्याण समाजका संस्थापक अध्यक्ष हुन्। उनले करदाताको हकहित संरक्षण, करसम्बन्धी जनचेतना अभिवृद्धि, कर प्रशासनमा सुधार तथा कर नीतिलाई पारदर्शी र उत्तरदायी बनाउन निरन्तर पैरवी गर्दै आएका छन्।
चार्टर्ड एकाउन्टेन्ट रहेका गैह्रेले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। वित्तीय तथा सञ्चालन लेखापरीक्षण, वित्तीय नियमन र पुँजी बजारसम्बन्धी कानुनी तथा अनुपालनका क्षेत्रमा उनले दुई दशकभन्दा लामो व्यावसायिक अनुभव हासिल गरेका छन्।
उनको अनुभवले अन्तर्राष्ट्रिय स्तरमा कर नीति, कर प्रशासन सुधार तथा करदाता अधिकारसम्बन्धी संवादमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। उनको नियुक्तिलाई नेपालका करदाता अधिकारसम्बन्धी अभियान र अन्तर्राष्ट्रिय कर नीति संवादबीच सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
करदाता अधिकारको अवधारणाले कर तिर्नुपर्ने दायित्वसँगै करदाताले निष्पक्ष व्यवहार, प्रभावकारी सार्वजनिक सेवा, निर्णयविरुद्ध स्वतन्त्र पुनरावेदनको अवसर तथा न्यायिक सुनुवाइको अधिकार पाउनुपर्ने मान्यतालाई समेट्छ। कर प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न पारदर्शिता, सरल कर प्रशासन र सार्वजनिक स्रोतको जवाफदेही उपयोग आवश्यक रहेकोमा गैह्रेले जोड दिँदै आएका छन्।