

काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘सीप मेला २०८२’ का लागि आवेदन खुला गरेको छ। जेठ ७ गतेदेखि सुरु हुने यस मेलामा विभिन्न १० क्षेत्रका ३४ वटा सीपमूलक विधामा निःशुल्क तालिम प्रदान गरिने छ।
सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार तालिम कार्यक्रम सरकारी, गैरसरकारी, निजी तथा दातृ संस्थासँग सहकार्यमा निःशुल्क सञ्चालन गरिनेछ। यस वर्ष महानगरले २,०८२ जनालाई सीप तालिम दिने लक्ष्य लिएको छ।
महानगरका अनुसार तालिममा काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडकपेटिमा व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ।
तालिमका क्षेत्र र विधाहरू
तालिमको अवधि ३० दिन हुनेछ, जहाँ दैनिक ६ कक्षा सञ्चालन गरिनेछ र १०० घण्टासम्म प्रशिक्षण दिइनेछ।
प्रदान गरिने मुख्य तालिम विधाहरू यसप्रकार छन्:
-आईसीटी क्षेत्र: डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग
-विशेष क्षमता समर्थन: हाउसकिपिङ (P.W.D) र केयर सर्भिस
-इलेक्ट्रिक्स: ल्यापटप रिपेयर, एसी तथा रेफ्रिजेरेटर, सिसिटिभी, मोबाइल रिपेयर
-गार्मेन्ट: गार्मेन्ट फेब्रिकेटर, बेसिक फेसन डिजाइनिङ
-निर्माण (कन्स्ट्रक्सन): इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ, कार्पेन्ट्री
-हस्पिटालिटी: बारिस्टा, वेटर, फास्ट फुड, बेकरी
-अटोमोबाइल्स: इलेक्ट्रिक भेहिकल मर्मत, हलुका सवारी उपकरण मर्मत, मोटरसाइकल स्कुटर मर्मत
-कला तथा मूर्तिकला: थाङ्का, सिरामिक/टेराकोटा
-ज्योतिष तथा पुरोहित तालिम
-कृषि: फूल सजावट तालिम
-सौन्दर्यकला: मेकअप र हेयर, नेल टेक्निसियन, कपाल काट्ने
-वित्त: स्टक मार्केट तालिम
महानगरपालिकाले इच्छुक व्यक्तिहरूलाई तालिमका लागि समयमै आवेदन दिन आग्रह गरेको छ।