आजबाट सोह्रश्राद्ध शुरु: श्राद्धका प्रकार सहित हेर्नुहाेस्

आजबाट सोह्रश्राद्ध शुरु: श्राद्धका प्रकार सहित हेर्नुहाेस्

काठमाडौँ, ९ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो ।

सोह्रश्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । बाबुको तिथिमा सोह्रश्राद्ध गर्नु उत्तम मानिएको पनि प्रा डा गौतमले बताउनुभयो । आज अपराह्न प्रतिपदा तिथिमा श्राद्ध गरिन्छ ।

श्राद्धका प्रकार :

श्राद्ध विभिन्न किसिमका हुन्छन् – नित्यं नैमित्तिकं काम्यं वृध्दिश्राध्दं तथैव च । पार्वणञ्चेति मनुना श्राध्दं पञ्चविधं स्मृतम् । तिनको परिचय यस प्रकार छ :-

१) नित्य श्राद्ध : दिनैपिच्छे सन्ध्यावन्दनका समयमा आफ्ना देवपितृ र मनुष्य पितृहरूलाई लक्ष्यित गरी प्रदान गरिने तर्पण र पूजा नित्य श्राद्ध हो । यस श्राद्धमा सामान्य पूजासामाग्री, तिल र शुद्ध जलको मात्र प्रयोग गरिन्छ । यसमा विश्वदेव ब्राह्मणको स्थापना र पिण्डदान गरिरहनु पर्दैन ।

२) नैमित्तिक श्राद्ध : अन्त्येष्टि अन्तर्गतको दशगात्र कर्म, वार्षिक पर्यन्तको और्द्ध्वदैहिक कर्म, एकोद्दिष्ट श्राद्ध, एकोपार्वण श्राद्ध आदि नैमित्तिक श्राद्ध हुन् । एउटा सौर वर्ष जम्मा ३६५ दिनको हुने गर्दछ । एक सौर वर्ष पितृलोकको एक दिन हुन्छ । त्यसैले हाम्रो पूरा एक वर्षको समयावधि पितृहरूको एक दिन हो । त्यसैले दिनदिनै पुत्रसन्ततिबाट तर्पणपिण्ड प्राप्त गरी उनीहरूको आत्मा तृप्त हुने गर्दछ भन्ने विश्वासअनुरूप हरेक वर्ष दिवङ्गत भएको तिथि समातेर हामी निष्ठापूर्वक श्राद्ध गर्दछौं । यसमा एक जना पितृको मात्र उद्देश्य राखी कर्म सम्पादन गरिने भएकाले यसलाई एकोद्दिष्ट श्राद्ध भन्ने गरिन्छ । पितृपक्षको समय, अमावस्या, सङ्क्रान्ति वा अन्य कुनै पर्वका दिन एकोद्दिष्ट श्राद्ध परेमा त्यसलाई एकोपार्वण भन्ने गरिन्छ । यसमा पनि विश्वदेव ब्राह्मणको स्थापना गरिरहनु पर्दैन ।

देवकर्ममा भावना प्रधान हुन्छ, जसले जसरी जान्दछ, त्यसरी नै भक्तिभाव र पुकारा गर्दा देवता प्रसन्न हुने गर्दछन् । तर पितृभावमा वाक्यशुद्धिलाई अनिवार्य मानिन्छ । त्यसैले श्राद्धमा वचन, विभक्ति , कारक, पुरुष सबै संस्कृत व्याकरणको परिधिभित्र मिलेको हुनुपर्दछ । यसको अर्थ हो, आफूले प्रदान गरेको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निष्फल हुन्छ । सामान्यतया एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा र एकोपार्वण श्राद्ध अपराह्न कालमा गर्ने नियम छ ।

३) आभ्युदयिक श्राद्ध : मरेको तिथिमा मात्र होइन, घरमा शुभकर्म हुँदा पनि श्राद्ध गर्ने गरिन्छ । सप्ताह, पुराणश्रवण, विवाह, व्रतबन्ध, चूडाकर्म (छेवर), लघुरुद्री लगायतका ठूलठूला कर्म गर्नुअघि पितृको समेत पूजा गर्ने प्रचलन छ, त्यसरी पितृलाई सम्झिई गरिने श्राद्धलाई आभ्युदयिक वा बृद्धि श्राद्ध भन्ने गरिन्छ । नान्दीमुखी यस्तै किसिमको श्राद्ध हो । यस्तो श्राद्धमा श्राद्धका सबै विधानको सम्पादन गरे पनि पिण्डदान गर्नुपर्दैन । देवतालाई दाता र पितृलाई हर्ता मान्ने गरिन्छ, आफ्नो कूलमा कुनै राम्रो कर्मको संयोग जुरेको अवसर पारी पितृहरू पनि केही पाउने आशा गर्दछन् भन्ने मान्यता छ । त्यसैले यस्तो अवसरमा बृद्धि श्राद्ध गर्ने गरिएको हो । यो श्राद्ध दिनको प्रातःकाल अर्थात् बिहानको समयमा गर्नुपर्दछ ।

४) काम्य श्राद्ध : कामना विशेषले गरिने वा पुण्यक्षेत्र वा तीर्थमा गई गरिने श्राद्धलाई काम्य श्राद्ध भन्ने गरिन्छ । यसलाई तीर्थश्राद्ध मात्र पनि भन्ने गरिन्छ । गृहस्थीहरूको लागि तीर्थश्राद्ध एकदमै जरुरी छ । जीवनकालमा एक पटक वा सके पटकपटक औंसी वा अन्य कुनै पावनतिथि पारेर पितृहरूको उद्धारको कामना राखी विभिन्न तीर्थस्थल मानिएका क्षेत्रमा पुगी क्षमता र सामर्थ्यले भ्याएसम्म प्रत्येक सन्ततिले श्राद्ध गर्नुपर्ने नियम छ । ती तीर्थहरूमा गङ्गा, यमुना, सरस्वतीको संगमस्थल प्रयागक्षेत्र, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी गङ्गोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बद्रीनाथ धाम, केदारनाथ, ठूला र पवित्र मानिने विभिन्न नदीका घाट, गोकर्ण, उत्तर गया, आर्यघाट, बराह क्षेत्र, कागवेनी क्षेत्र, देवघाटलगायत आदि पर्दछन् । विभिन्न तीर्थहरूको श्राद्धसमापन गरी अन्त्यमा बद्रीनाथ धाममा रहेको ब्रह्म कपालमा श्राद्ध गरेमा पितृहरूको सायुज्यमुक्ति हुन्छ र उनीहरू तृप्त हुन्छन् भन्ने मान्यता छ । सन्ततिले दिएको जलाञ्जली र पिण्डदानले पितृहरू तृप्त भई तिनले सन्तति र वंशजलाई आशीर्वादस्वरूप आयुष्य, धन, कीर्ति, सुख, भोग, यश, सम्मानलगायत आत्मोन्नतिको मार्ग प्रदान गर्दछन् । (आयुः प्रजां धनं विद्यां स्वर्ग मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्ध तर्पिताः) । तीर्थश्राद्ध गर्दा सामान्यतया जौको पिण्ड दिइन्छ, तर बद्रीनाथमा ब्रह्मकपाली श्राद्धमा भातको पिण्ड बनाई पितृलाई चढाउने प्रचलन छ ।

५) पार्वण श्राद्ध : सूर्य कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा भएको वेला गरिने श्राद्ध पार्वण श्राद्ध हो । यसलाई महालय श्राद्ध र नेपाली जनबोलीमा सोह्र श्राद्ध पनि भन्ने गरिन्छ । दिवङ्गत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने महापर्व सोह्रश्राद्ध हो । सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको वखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनेर बताइएको छ :-

‘सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी । धनपुत्रा : कुतस्तस्य पितृनिश्वास पीडनात् ।।’ (गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव तथा उसका सन्तति निरर्थक हुन्छन्)

कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा विचरण गरेको समयमा भुवनभास्कर सूर्य र दिव्यपितृका प्रमुख अर्यमाको भेट हुन्छ । अर्यमाका साथमा समस्त मनुष्यपितृ मानिने हाम्रा मृत पूर्वजहरू पनि सूर्यको समीपमा पुग्दछन् ।सूर्यका साथमा असोज महिनाको कृष्णपक्षभरि ती पितृगणले पृथ्वीलोकको भ्रमण गर्दछन् र यस समयमा उनीहरूले आफ्ना वंशजहरूबाट तर्पण र पिण्डको आकाङ्क्षा राखेका हुन्छन् । त्यसरी आशावादी बनेका पितृहरूलाई तिनका वंशजले श्राद्धादि कर्म नगर्दा पितृहरूको श्वासप्रश्वास रोकिन्छ र उनीहरूलाई पीडा हुन्छ । त्यसरी पीडित बन्न पुगेका पितृले सन्ततिलाई सराप्दछन् । त्यसैले तिनलाई पार्वण श्राद्ध गरी सन्तुष्ट र तृप्त तुल्याउने परम्परा छ । आश्विन कृष्णपक्षको १५ दिनको समयभित्र जहिले श्राद्ध गरे पनि हुन्छ, तर आफ्ना दिवङ्गत बाबु, बाजे र बराजुको तिथि लिई श्राद्ध गर्नु उचित हुन्छ । सूतक, जुठो वा अन्य विघ्नबाधा परेमा पञ्चमी, अष्टमी, एकादशी, द्वादशी वा औंसीमा गर्नुपर्छ । रोकिएकोले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा आश्विन शुक्ल पक्षको प्रतिपदादेखि पञ्चमीसम्म उनमासिक जुराउन प्रयोग गरिने सूत्र प्रयोग गरी गर्न सकिन्छ । त्यसमा पनि विघ्न आएमा लक्ष्मीपूजाको औंसीमा गर्ने गरेको पनि पाइन्छ । लक्ष्मीपूजाका दिन पनि महालय श्राद्ध गर्न सकिएन भने पुस लाग्ने सङ्क्रान्तिभित्र कुनै दिन जुराएर यो श्राद्ध गर्ने विधान छ । यो श्राद्ध दिनको उत्तरार्द्ध अर्थात् अपराह्न कालमा गर्नुपर्ने विधान छ ।

महालय श्राद्धमा खासगरी स्वाहा स्वधा दुबैको आह्वान गरिन्छ । यस श्राद्धमा देवऋषि (विश्वदेव ब्राह्मण) र पितृऋषि (पितृब्राह्मण) को स्थापना गरी स्वाहा र स्वधा दुबै मन्त्रले पूजा गरिन्छ । एकातिर जनै सव्य गरेर साहिँली औंलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य गरी चोरी औंलाले पूजा गरिन्छ । दिवङ्गत बाबुपट्टिका तीनपुस्ता र मावलीपट्टिका तीन पुस्ताका लागि छ वटा पिण्ड दिने चलन छ । कतैकतै आफूले तर्पण गर्ने सबै मृत पितृहरूका लागि छुट्टाछुट्टै पिण्ड पनि दिने गरिन्छ । कसैकसैले पुगे पनि नपुगे पनि सोह्र वटा पिण्डदान गरेको पनि देखिन्छ । हुन त परम्परा र चलनको कुरो हो, तर वास्तवमा छ वटा पिण्ड दिनु नै विधानसम्मत र उचित हुन्छ ।