कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको नाम तय

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको नाम तय

काठमाडौं । नेकपा एमाले र नेकपाबीच भएको सत्ता साझेदारी सहमतिअनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही बन्ने लगभग निश्चित भएको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले दलको नेता भएकाले शाही नै मुख्यमन्त्रीको स्वाभाविक दावेदार रहेको बताउँदै अन्य नाममा छलफल आवश्यक नरहेको स्पष्ट पारे। उनले साविक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रदेशसभा सदस्य कल्याणी खड्काले मुख्यमन्त्री दाबी गर्ने सम्भावना न्यून रहेको पनि बताए।

ज्वालाका अनुसार मुख्यमन्त्री चयनका विषयमा आइतबार सुर्खेतमा संसदीय दलको बैठक बस्नेछ। यद्यपि, सहमतिमा अन्य कुनै नाम प्रस्ताव भए त्यसबारे छलफल हुन सक्ने भए पनि हाल त्यस्तो तयारी नरहेको उनको भनाइ छ।

यसअघि साविक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कर्णालीमा कल्याणी खड्का, कोशीमा राजेन्द्र राई र सुदूरपश्चिममा नरेशबहादुर शाही मुख्यमन्त्रीका सम्भावित दावेदारका रूपमा हेरिएका थिए। राजेन्द्र राईले भने आफू दावेदार नरहेको सार्वजनिक रूपमा बताइसकेका छन् भने सुदूरपश्चिमका नरेशबहादुर शाहीले एमालेसँग भएको सत्ता सहमतिप्रति असन्तुष्टि जनाएका छन्।