

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकारको नेतृत्व र निर्णय प्रक्रियामा संघीय नेतृत्वको हस्तक्षेपले राजनीतिक अस्थिरता बढाएको बताएका छन्।
इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रदेश सरकारलाई पर्याप्त निर्णय अधिकार नदिँदा संघीय शासन व्यवस्थाको मर्म कमजोर बनेको टिप्पणी गरे। उनले प्रदेश सरकार गठनदेखि नेतृत्व परिवर्तनसम्मका निर्णय अझै पनि केन्द्रबाट हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
‘अहिले पनि प्रदेश सरकार बन्ने निर्णय संघीय नेतृत्व तहबाट भइरहेको छ। प्रदेश सरकारले आफ्ना काम आफैँ गर्न पाएको छैन। त्यसैले प्रदेश सरकार आफ्नै खुट्टामा उभिन नसकेको सन्देश जनतामा गएको छ,’ उनले भने।
पराजुलीले कोशी प्रदेशका विषयमा निर्णय गर्ने अधिकार कोशीकै नेतृत्वलाई र मधेशका विषयमा निर्णय गर्ने अधिकार मधेशकै नेतृत्वलाई दिनुपर्ने धारणा राखे। प्रदेश सरकारको छोटो आयुका कारण विकास निर्माणका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।
‘एउटा सरकारले बजेट ल्याउँछ, कार्यान्वयन नहुँदै सरकार परिवर्तन हुन्छ। त्यसपछि अर्को सरकारले पूरक बजेट ल्याउने क्रम दोहोरिन्छ। यस्तो अभ्यासले विकास प्रक्रिया प्रभावित भएको छ,’ उनले भने।
बारम्बार सरकार परिवर्तन हुने अवस्थाले प्रदेश सरकारप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको भन्दै उनले संघीयतालाई प्रभावकारी बनाउन संघ सरकारले आवश्यक कानुनहरू शीघ्र निर्माण गर्नुपर्ने र प्रदेशलाई संविधानअनुसारको निर्णय अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।