प्रदेशको नयाँ सत्ता समीकरणबारे कांग्रेसको छलफल, सातै प्रदेशका नेतासँग सभापति थापाको परामर्श

प्रदेशको नयाँ सत्ता समीकरणबारे कांग्रेसको छलफल, सातै प्रदेशका नेतासँग सभापति थापाको परामर्श

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच विकसित नयाँ सत्ता समीकरणपछि उत्पन्न राजनीतिक अवस्थाबारे सातै प्रदेशका नेतासँग छलफल गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा सातै प्रदेशका सभापति, संसदीय दलका नेता तथा मुख्यमन्त्रीसँग परामर्श बैठक बसेको हो।

बैठकमा प्रदेश सरकारको वर्तमान राजनीतिक अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने लोकतान्त्रिक शक्तिहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने रणनीतिबारे छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए।

उनका अनुसार प्रदेशको राजनीतिक समीकरण, दलहरूको संख्या र बहुमतको अवस्थाका आधारमा सरकारको नेतृत्व गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा प्रदेशगत रूपमा निर्णय गरिनेछ।

एमाले र नेकपाबीचको नयाँ सहमतिपछि प्रदेशहरूको राजनीतिक समीकरण फेरिएको अवस्थामा कांग्रेसले एमाले र नेकपाबाहेकका दलहरूसँग पनि संवाद र सहकार्यको सम्भावनाबारे छलफल अघि बढाएको संकेत देखिएको छ।

विशेषगरी बागमती, मधेश र गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत नपुग्ने अवस्थाले नयाँ सत्ता समीकरणको सम्भावना खुला रहेको कांग्रेसको बुझाइ छ।

मुख्यमन्त्री बानियाँले लोकतन्त्र र संघीय शासन व्यवस्थाप्रति प्रतिबद्ध भई निर्वाचनमार्फत प्रदेशसभामा पुगेका दलहरूसँग सहकार्यको सम्भावनालाई पनि बैठकले प्राथमिकताका साथ छलफल गरेको बताए।

‘प्रदेशमा विकसित नयाँ राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर कहाँ सरकार सञ्चालन गर्ने, कहाँ प्रतिपक्षमा बस्ने र कुन प्रदेशमा कुन दलसँग सहकार्य सम्भव हुन्छ भन्ने विषयमा प्रदेशगत अवस्था हेरेर अघि बढ्नेबारे छलफल भएको हो,’ बानियाँले बताए।

एमाले–नेकपा सहकार्यपछि प्रदेश तहमा बदलिएको सत्ता समीकरणलाई मध्यनजर गर्दै कांग्रेसले आगामी रणनीति तय गर्न परामर्शलाई तीव्र बनाएको जनाएको छ।