

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मन्त्रीहरूले आफ्नो राजीनामा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष बुझाएका हुन्।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा बुझाइएको पुष्टि गरेका छन्।
नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सोही निर्णयअनुसार आइतबार सरकारमा रहेका कांग्रेसका सबै मन्त्रीले पदबाट राजीनामा दिएका हुन्।
कांग्रेसबाट सरकारमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए।
अब कांग्रेस संसदीय दलले औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्य एमालेबाट नेतृत्व गरिरहेका छन्। यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार रहेको भए पनि एमाले–नेकपा नयाँ सत्ता सहकार्यको सहमतिपछि प्रदेशको राजनीतिक समीकरण फेरिएको छ। नयाँ समीकरणसँगै कांग्रेस अब प्रतिपक्षमा बस्ने भएको छ।