देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता विपद्को जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।