

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मनसुनको प्रभाव अपेक्षाकृत कमजोर रहने जनाएको छ। विभागका अनुसार आइतबार, सोमबार र मंगलबार अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा भए पनि व्यापक वा लगातार भारी वर्षाको सम्भावना कम रहेको छ।
विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी रातिको समयमा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम तुलनात्मक रूपमा बढी सक्रिय रहने अनुमान गरिएको छ।
यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आगामी २४ घण्टाभित्र भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै मंगलबार कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले वर्षासँगै सम्भावित बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।