

काठमाडौं । लघुवित्त संस्थाबाट लिएको कर्जा खारेज गर्नुपर्ने मागसहित देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।
आन्दोलनमा सहभागी पीडितहरूले सरकारले आफ्ना माग तत्काल सम्बोधन गर्नुपर्ने भन्दै कर्जा खारेज, ब्याज तथा जरिबाना मिनाहा र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन्।
आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायतका क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूको भनाइमा लघुवित्त संस्थाहरूको उच्च ब्याजदर, असुलीको दबाब र बढ्दो आर्थिक भारका कारण हजारौं परिवार गम्भीर समस्यामा परेका छन्।
पीडितहरूले लघुवित्तका कर्मचारीबाट आफूहरूलाई मानसिक तनाव र विभिन्न प्रकारका दबाब झेल्नुपरेको आरोप समेत लगाएका छन्।
उनीहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग कार्यान्वयन नगरेको गुनासो गर्दै माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
लघुवित्त पीडितहरूको प्रदर्शनका कारण माइतीघर मण्डलालगायतका क्षेत्रमा केही समय नाराबाजी र प्रदर्शन भएको थियो।