११ जिल्लामा आज बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह

११ जिल्लामा आज बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले मंगलबार देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज बिहान जारी गरेको पूर्वानुमानअनुसार झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आज देशभर मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।