आजदेखि देशभर वृक्षरोपण अभियान सुरु, तीन करोड बिरुवा रोप्ने लक्ष्य

आजदेखि देशभर वृक्षरोपण अभियान सुरु, तीन करोड बिरुवा रोप्ने लक्ष्य

काठमाडौं, १४ असार । सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षमा ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको रिङरोड आसपासका क्षेत्रमा फलफूलका बिरुवा रोपेर अभियानको सुरुवात गर्नुभयो ।

राजधानीको कोटेश्वरदेखि कलङ्कीसम्म फलफूलका बिरुवा रोपिएको छ । सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रसेवक कर्मचारीलाई सहभागी भएका थिए । प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ ।

लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत सरकारले गरेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान सुरु गर्नुभएको थियो । आगामी आर्थिक वर्ष २०७६/०७७ लाई ‘वृक्षारोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण अभियान सुरु हुन लागेको हो । वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ‘क्लस्टर’ निर्धारण गरेको छ ।