

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले कर्णाली याक्सलाई जितका लागि १८७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो।
विराटनगरका लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५३ बलमा ९ छक्का र ३ चौका प्रहार गरे। त्यस्तै, एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन बनाए भने आन्द्रे रसेलले २७ र बसिर अहमदले १३ रन जोडे। इमरान शेख ५, चरिथ असलंकाले ३ र शहान जयसूर्या ११ रनमा आउट भए। जयसूर्या रनआउट भएका थिए। कर्णालीका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। मार्क वाटले १ विकेट हात पारे।
अब विराटनगरलाई हराउन कर्णालीले १८७ रन बनाउनुपर्नेछ।