इनम सापकोटासँग जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

इनम सापकोटासँग जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसमा उल्लेखित व्यक्ति र प्रसंगसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्।

बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै शर्माले दियोपोस्टमा आफ्नो नामसमेत जोडेर प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका हुन्।

‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले त्यसमा उल्लिखित व्यक्ति तथा घटनाक्रममा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिल्यै भेटेको पनि छैन,’ विज्ञप्तिमा शर्माले भनेका छन्।

समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको उनको भनाइ छ। आधारहीन, झुटा र कपोलकल्पित विवरणमार्फत जनतामा भ्रम फैलाउने उद्देश्यले समाचार प्रकाशित गरिएको भन्दै उनले त्यसको भर्त्सना गरेका छन्।

दियोपोस्टले बिचौलियाको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेका इनम सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा गरी १ लाख ७४ हजार रुपैयाँको कारोबार विवरण भेटिएको समाचार प्रकाशित गरेको थियो। उक्त विवरणमुनि मनोजकुमार शर्मा (चिफ जस्टिस), विश्व पोखरेल ओखलढुंगा र वंशी दाहालको नाम उल्लेख रहेको समाचारमा जनाइएको थियो।

उक्त विवरण र त्यसमा उल्लिखित व्यक्तिहरूसँग आफ्नो कुनै सम्बन्ध वा संलग्नता नरहेको प्रधानन्यायाधीश शर्माले विज्ञप्तिमार्फत बताएका छन्।