

काभ्रे, २९ जेठ । कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन्। कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन्। सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरूबीच कामका लागि तँछाडमछाडसमेत हुने गरेको छ। याे खबर आजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे। ‘काम गराउन त नमिल्ने हो तर सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर परिचालन गरेका हौँ,’ उनले भने, ‘उनीहरूले काम पनि जान्दछन्।’ ४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन्। तल्लो तहका कर्मचारीले सेवाग्राहीलाई सहयोग गर्ने नाममा उनीहरूबाट ‘लाभ’ लिने गरेका छन्। लेखापढी व्यवसायीको पहुँच प्रत्येक कागजपत्र र फाँटमा हुने गरेको छ। कर्मचारीसँग समेत आर्थिक लेनदेन हुने भएकाले लेखनदासले लगेका फाइललाई कर्मचारीले प्राथमिकता दिने गरेको स्रोतले जनाएको छ।
कर्मचारी अभावका कारण देखाउँदै मालपोत कार्यालय काभ्रेले राजस्व दाखिलामा ढिलाइ गरेको छ। काजमा रहेका लेखापाल चतुर्भुज तिमल्सिना शुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालय काभ्रेमा फिर्ता भएपछि आइतबार संकलन भएको ३४ लाख ८९ हजार ५० रुपैयाँ बैंक दाखिला भएन। आइतबार र सोमबार गरी जम्मा भएको १ करोड २६ लाख ४४ हजार २ सय मंगलबार एकमुष्ट जम्मा भएको प्रमुख मालपोत अधिकृत कोइरालाले जानकारी दिए । याे खबर आजकाे कान्तिपुर दैनिकबाट लिएका हाैं ।