Skip to content

बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विभिन्न स्थानमा मङ्सिर १२ देखि १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको छ । भूमिगत कार्य सम्पन्न भएका केबलमा स्ट्रक्चर फिटिङ, एचटी/एलटी केबल राइजिङ, केबल कनेक्सन, बसबार एरेन्जमेन्ट तथा केबल चार्जिङसम्बन्धी काम गर्न विद्युत् कटौती गर्न लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार तोकिएका चारै दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

सूचनाअनुसार शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग र नापी विभाग क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

त्यस्तै, आइतबार शंखमूल मार्ग, सोमबार बुद्धनगर र बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ ।

मङ्सिर १५ गते मंगलबार ३१ नम्बर वडा कार्यालय क्षेत्र र तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत् कटौती हुने केन्द्रले जनाएको छ ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय