नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न सीजी र टाटा पावर प्रतिबद्ध
काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको टाटा पावरले नेपालको ऊर्जा क्षेत्रको विकास तथा आर्थिक वृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) प्रविर सिन्हासहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गरेका हुन् ।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटबारे जानकारी दिँदै ऊर्जा क्षेत्रको विकासमा मन्त्री श्रेष्ठले देखाएको ज्ञान र सहकार्यप्रतिको खुलापनको प्रशंसा गरेका छन् । उनले नेपालको ऊर्जा क्षेत्रको विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अघि बढाउन सीजी इनर्जी र टाटा पावर सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
‘नेपालको आगामी विकास र वृद्धिलाई ऊर्जा दिन टाटा पावर र सीजी इनर्जी प्रतिबद्ध छन्,’ चौधरीले फेसबुकमा लेखेका छन् । सीजी र टाटा पावरबीचको सहकार्यले नेपालको ऊर्जा क्षेत्रमा लगानी, विकास तथा दीर्घकालीन साझेदारीका सम्भावनालाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।


