Skip to content

कांग्रेसका अधिवेशनलाई एकता बलियो बनाउने अवसरका रूपमा लिनुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व परिवर्तन र प्रतिस्पर्धाको अवसरका साथै संगठनलाई एकताबद्ध बनाउने माध्यमका रूपमा लिनुपर्ने बताएका छन् ।

बिहीबार पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले अधिवेशन तथा महाधिवेशनमा नयाँ नेतृत्व चयन हुनु र प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको बताए । तर, यसलाई पार्टीभित्र एकता कायम गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

‘पार्टी अधिवेशन, महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिस्पर्धा हुन्छ । यो स्वाभाविक हो । तर, हामीले अधिवेशन, महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ,’ उनले भने । अधिवेशन तथा महाधिवेशनलाई पार्टी एकता बलियो बनाउने अवसरका रूपमा उपयोग गर्न सके कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने उनले बताए ।

‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन । वडादेखि केन्द्रसम्मका अधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अभियानका रूपमा उपयोग गर्न सके सबै चुनावमा कांग्रेस बलियो बन्छ । पद एउटा हुन्छ, आकांक्षा राख्ने साथी धेरै हुन्छन् । हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ उनले भने ।

उनले बीपी कोइराला २०३३ सालमा नेपाल फर्कने निर्णय गर्दा गणेशमान सिंहले फरक मत राखेको प्रसङ्ग पनि सुनाए । नेताले गरेको निर्णयलाई सबैले पालना गर्नुपर्ने उनको भनाइ थियो ।

‘२०३३ सालमा बीपीको नेपाल फर्कने निर्णयमा गणेशमानजी सहमत हुनुहुन्थेन । तर, बीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले ‘बीपी मेरो नेता हो । उहाँले निर्णय गरेपछि मैले त्यो निर्णय मान्नु मेरो दायित्व हो’ भन्दै नेपाल फर्कनुभयो,’ उनले भने । बीपी कोइरालाले देखाएको बाटोमा हिँड्न सके कांग्रेस र मुलुकलाई सबै संकटबाट पार लगाउन सकिने कोइरालाको भनाइ थियो ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय