

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति पनि बढेर ६.२२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै समूहको मूल्यवृद्धि बढेको छ। गत वर्ष २.५४ प्रतिशत ऋणात्मक रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति यस वर्ष ८.०४ प्रतिशत पुगेको छ। त्यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशतबाट बढेर ५.४६ प्रतिशत पुगेको छ।
खाद्य समूहमा घिउ तथा तेलको मूल्य सबैभन्दा बढी १६.४४ प्रतिशतले बढेको छ। फलफूलको मूल्य १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य १२.९७ प्रतिशतले बढेको छ। त्यस्तै, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्यवृद्धि भएको छ।
क्षेत्रगत रूपमा सहरीभन्दा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ। ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशतले बढ्दा सहरी क्षेत्रको ६.२८ प्रतिशतले बढेको छ। प्रदेशगत रूपमा मधेसमा सबैभन्दा बढी ७.३७ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा ५.९२, तराईमा ६.८८, पहाडमा ६.१४ र हिमाली क्षेत्रमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ।
उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि बढेको छ। गत वर्ष असोजमा १.३२ प्रतिशत रहेको वार्षिक विन्दुगत थोक मुद्रास्फीति यस वर्ष ७.२९ प्रतिशत पुगेको छ।
समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति २.८७ प्रतिशत, मध्यवर्ती वस्तुको ९.९८ प्रतिशत, पूँजीगत वस्तुको ६.५६ प्रतिशत र निर्माण सामग्रीको ५.९३ प्रतिशत रहेको छ। भारतको तुलनामा पनि नेपालमा उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ। सन् २०२६ अक्टोबरमा भारतको मुद्रास्फीति ६.०९ प्रतिशत रहँदा नेपालमा ६.३७ प्रतिशत रहेको छ।