Skip to content

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका किसानको माग

उत्पादन लागत बढे पनि तीन वर्षदेखि मूल्य समायोजन नभएको किसानको गुनासो

कास्की । कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । उत्पादन लागत निरन्तर बढ्दै गए पनि सोहीअनुसार दूधको मूल्य समायोजन नहुँदा किसान मारमा परेको उनीहरूको गुनासो छ ।

दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम तथा ढुवानी खर्च बढिरहेको तर किसानले पाउने मूल्य भने स्थिर रहेकाले आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी हाल दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्रै पाउँदै आएको जनाएको छ । उक्त मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल दिन नसकेको संस्थाको निष्कर्ष छ ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीमार्फत करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए ।

दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण तथा राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बरालको भनाइ छ ।

‘उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन् । त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ,’ उनले भने, ‘भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ ।’

उपभोक्ताको हित र बजारको अवस्थासमेतलाई ध्यानमा राख्दै किसानले पाउने दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरिएको अध्यक्ष बरालले बताए । केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले पनि दूधको मूल्य वृद्धि गर्न लामो समयदेखि सरकारसँग माग गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

किसानले दूधको मूल्य वृद्धि गर्नुपर्ने मागसँगै बिक्री गरेको दूधको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार तथा खोप सेवा प्रभावकारी बनाउन र पशु आहारमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् । उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन तथा पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क बनाउनुपर्ने उनीहरूको माग छ ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए । यस अवधिमा दाना र चोकरको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेको उनको भनाइ छ ।

‘दाना–चोकरको मूल्य महिनैपिच्छे १० देखि १५ रुपैयाँसम्म बढ्छ । हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ । यही अवस्था रहिरहने हो भने किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,’ लामिछानेले भने ।

त्यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृषक कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहे पनि दूधको मूल्य समायोजन हुने आशामा किसान तीन वर्षदेखि पर्खिरहेको बताए ।

उपभोक्ताले बजारमा दूध खरिद गर्दा महँगो मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनको भनाइ छ ।

‘किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ । किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?’ अधिकारीले प्रश्न गरे ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय