Skip to content

१४औँ सागको नयाँ मिति तय, सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म हुने

काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति पुनः परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म सञ्चालन हुने भएको छ।

पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) हरूसँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको जनाएको हो।

यसअघि १४औँ साग सन् २०२७ अप्रिल ३ देखि ११ (२०८३ चैत २० देखि २८) सम्म आयोजना गर्ने तय भएको थियो। तर, छैटौँ एसियाली इन्डोर तथा मार्सल आर्ट्स गेम्सको मिति पुनःनिर्धारण भएपछि त्यसलाई ध्यानमा राख्दै सागको मिति पनि सारिएको हो।

पाकिस्तान ओलम्पिक संघका अनुसार खेलाडीको हित र कल्याणलाई प्राथमिकतामा राख्दै दुवै प्रतियोगितामा सहभागी हुन सक्ने अवसर सुनिश्चित गर्न नयाँ मिति तय गरिएको हो।

दक्षिण एसियाली एनओसीहरूबीच भएको सहमतिले क्षेत्रीय ओलम्पिक आन्दोलनमा एकता र सहकार्यको भावना प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ।

पाकिस्तान ओलम्पिक संघले सहकार्य र समर्थनका लागि दक्षिण एसियाका अन्य एनओसीप्रति आभार व्यक्त गर्दै सन् २०२७ सेप्टेम्बरमा खेलाडी, पदाधिकारी तथा प्रतिनिधिमण्डललाई पाकिस्तानमा स्वागत गर्न आफूहरू आतुर रहेको जनाएको छ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय