

सिन्धुपाल्चोक । दसैँका लागि आवश्यक सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका आजदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्व लक्षित सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका सञ्चालनमा ल्याएको हो।
नाका खुलेपछि दसैँका सामान बोकेका कन्टेनर नेपाल भित्रिने क्रम सुरु भएको छ। यसले चाडपर्वका लागि आवश्यक वस्तुको आयात तथा आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको छ। चीनको सिचाङस्थित न्यालममा ४५ वटाभन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका उनले बताए।
चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। लामो समय बन्द रहेको नाका दसैँको मुखमा तीन दिनका लागि सञ्चालनमा आएपछि चाडपर्वका सामग्री भित्र्याउन व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, तीन दिनको अस्थायी सञ्चालन अवधिमा सीमापारि रोकिएका सबै कन्टेनर नेपाल भित्रिन सक्छन् वा सक्दैनन् भन्ने विषय नाकाको सञ्चालन अवधि र ढुवानी प्रक्रियामा निर्भर रहनेछ।