गगन थापाको नेतृत्वमा कांग्रेसको २३१ सदस्यीय नयाँ कार्यसमिति चयन

गगन थापाको नेतृत्वमा कांग्रेसको २३१ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा आगामी चार वर्षका लागि २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। काठमाडौंमा असोज १८ देखि २३ गतेसम्म आयोजित महाधिवेशनअन्तर्गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो। कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार सभापतिमा निर्वाचित थापाको शपथग्रहण शनिबार दिउँसो २ बजे हुनेछ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण र प्रमाणपत्र वितरण भने दसैँपछि गरिनेछ।

कांग्रेस विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ। सभापतिले ६६ जना सदस्य मनोनयन गर्ने भएकाले महाधिवेशनबाट २३१ जना निर्वाचित भएका हुन्। निर्वाचितमध्ये दुई पदाधिकारी र एक सदस्य निर्विरोध चयन भएका थिए भने बाँकी पदमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको हो।

कटुवालका अनुसार सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो भने अन्य पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो। मतगणना सुरु भएदेखि दिन र रातमा करिब २५ समूह बनाएर गणना गरिएको उनले बताए।

सभापतिमा गगन थापाको भारी जित

सभापति पदमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै गगन थापा निर्वाचित भएका छन्। सदर भएको कुल ६ हजार ९५९ मतमध्ये थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने खड्कीले ३७५ मत पाए। थापाले सदर मतको करिब ९४.६ प्रतिशत प्राप्त गरेका हुन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौं उपत्यका महिला प्रतिनिधित्वतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका छन्। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य तथा समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन्।

खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर जबरा तथा महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

सहमहामन्त्रीमा ११ जना निर्वाचित

कांग्रेसको १० क्लस्टरअन्तर्गत ११ सहमहामन्त्री निर्वाचित भएका छन्। निर्वाचित हुनेमा महिला सहमहामन्त्री प्रतिमा गौतम, खुला सहमहामन्त्री रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, आदिवासी जनजाति सहमहामन्त्री बहादुरसिंह लामा (तामाङ), दलित सहमहामन्त्री प्रकाश रसाइली (स्नेही), मधेसी सहमहामन्त्री अजयकुमार चौरसिया, खसआर्य सहमहामन्त्री मनोजमणि आचार्य, थारू सहमहामन्त्री योगेन्द्र चौधरी, मुस्लिम सहमहामन्त्री डा. फिरदोश आलम, पिछडिएको क्षेत्र सहमहामन्त्री जीवनबहादुर शाही तथा अल्पसङ्ख्यक–अपाङ्गता सहमहामन्त्री आङ्गेलु शेर्पा छन्।

महिला र खुला केन्द्रीय सदस्य

महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उपलब्ध विवरणअनुसार वासना थापा सबैभन्दा बढी मतसहित निर्वाचित भएकी छन्। उनीसँगै उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल निर्वाचित भएका छन्।

खुला केन्द्रीय सदस्यतर्फ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका छन्। प्रतिनिधिसभाका सचेतक निश्कल राई दोस्रो बढी मतसहित निर्वाचित भएका छन्।

खुला केन्द्रीय सदस्यमा इन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्द पोखरेल, इन्जिनियर मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रबल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, विद्वान गुरुङ, अर्जुनप्रसाद जोशी, इन्जिनियर अमृत ज्ञवाली, इन्जिनियर नवराज त्रिपाठी, सन्दीप राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, मिनकृष्ण महर्जन, बलदेव तिमिल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय, कुमार लुइटेल, इन्जिनियर ऋषि कोइराला, इन्जिनियर दीपकबाबु कँडेल, उज्ज्वलप्रसाद बराल, किरण केसी, दीपक भट्टराई, महेन्द्रकुमार शर्मा, डा. सुरजराज काफ्ले, डा. मुकेशराज काफ्ले, मदनकृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाईं, लेखनाथ पोखरेल, किरणकिशोर घिमिरे, रवि सिंह, डा. कृष्णप्रसाद पौडेल, तिलबहादुर रानाभाट, प्रदीपकुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराज श्रेष्ठ, कृष्ण रिजाल, नीलकण्ठ रिजाल र सुधांशु कोइराला निर्वाचित भएका छन्।

समावेशी क्लस्टरबाट निर्वाचित सदस्य

आदिवासी जनजाति क्लस्टरबाट खुलातर्फ १२ र महिलातर्फ आठ गरी २० सदस्य निर्वाचित भएका छन्। खुलातर्फ तीर्थ लामा, इन्जिनियर अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्माछिरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गल्जे लामा (शेर्पा), वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ निर्वाचित भएका छन्। महिलातर्फ गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउँचा, सपना राजभण्डारी जोशी, सीताकुमारी राना, प्रमिला राई, लीलादेवी बोखिम लिम्बु र पुनम लामा निर्वाचित भएका छन्।

दलित क्लस्टरबाट १४ सदस्य निर्वाचित भएका छन्। दलित महिलातर्फ सीता मिजार, शान्ति परियार विक, रूपा विक, कमला नेपाली र छाया सुनार निर्वाचित भएका छन्। दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तथा दलित खुलातर्फ डा. डिबी सुनार, सागर परियार, शरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्बरबहादुर बराइली र दीपक सोनी निर्वाचित भएका छन्।

मधेसी क्लस्टरबाट १३ सदस्य निर्वाचित भएका छन्। खुलातर्फ अनिलकुमार रुंगटा, रामकृष्ण यादव, डा. गरिवदास ठाकुर, दिनेशकुमार यादव, जितेन्द्रनारायण देव, असर्फी शाह, अशोककुमार शाह र उमेशचन्द्र यादव निर्वाचित भएका छन्। महिलातर्फ डा. मधुकुमारी ठाकुर, रेखाकुमारी यादव, अञ्जु झा, मीनाक्षी झा र गीताकुमारी यादव निर्वाचित भएका छन्।

खसआर्य क्लस्टरबाट १८ सदस्य निर्वाचित भएका छन्। खुलातर्फ इन्जिनियर लक्ष्मण केसी, भीम पराजुली, जगदीशचन्द्र उपाध्याय, राजेन्द्र केसी, जनार्दनसिंह क्षेत्री, उत्तमराज जोशी, अनुज चापागाईं, कृष्णप्रसाद कोइराला, माइकल रामचन्द्र अर्याल र गणेश सापकोटा निर्वाचित भएका छन्। महिलातर्फ डा. भद्रा पराजुली भण्डारी, जानुका पन्त, गीता देवकोटा, कृष्णकुमारी बस्नेत, विनिता अधिकारी, जानकी सिंह, देवकी गौतम र चम्पादेवी खड्का निर्वाचित भएका छन्।

थारू क्लस्टरबाट खुलातर्फ डा. भोगेन्द्रप्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदार र साजनकुमार महतो तथा महिलातर्फ डा. जीवन राना र डा. प्रमिलाकुमारी गच्छदार निर्वाचित भएका छन्।

मुस्लिम क्लस्टरबाट खुलातर्फ डा. अताबुल मंसुरी, मोहम्मद इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी तथा महिलातर्फ जमिला खातुन र सनम बेगम निर्वाचित भएका छन्।

पिछडिएको क्षेत्र क्लस्टरबाट खुलातर्फ दीपकजंग शाह र महिलातर्फ सुशीला बम निर्वाचित भएका छन्। अल्पसङ्ख्यक–अपाङ्गता क्लस्टरबाट अर्जुन शेरचन र प्रकाश पन्थ निर्वाचित भएका छन्।

प्रदेशबाट पनि केन्द्रीय सदस्य चयन

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट खुला, महिला तथा ३५ वर्षमुनिका युवा प्रतिनिधित्वका आधारमा केन्द्रीय सदस्य चयन भएका छन्।

कोशी प्रदेशबाट डम्बरबहादुर खड्का, मेदनीप्रसाद सिटौला, दीपनकुमार श्रेष्ठ, मृदुला कोइराला, इन्जिनियर हेमकाजी बस्नेत र डा. याशिका भट्टराई निर्वाचित भएका छन्।

मधेस प्रदेशबाट डा. अञ्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी, विनोद खनाल, मेघा शाही, गौरव पाण्डे र ममता शर्मा निर्वाचित भएका छन्।

बागमती प्रदेशबाट प्रा.डा. सूर्यकान्त घिमिरे, इन्जिनियर रोहित पौडेल, सन्तोष चालिसे, हरिप्रभा खड्की, अंशुल केसी र रजनी थापा निर्वाचित भएका छन्।

गण्डकी प्रदेशबाट किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ, खुमाप्रसाद अर्याल, सरस्वती अर्याल तिवारी, इन्जिनियर सुवास पौडेल र डा. कला पन्त निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशबाट कमलकिशोर घिमिरे, अमरबहादुर भण्डारी, प्रचण्डविक्रम न्यौपाने (गुण्टु), बालकुमारी भण्डारी, अनुराग खड्का र सुष्मा पाण्डे निर्वाचित भएका छन्।

कर्णाली प्रदेशबाट राजीवविक्रम शाह, खड्गबहादुर शाही, दिक्पालकुमार शाही, रामदेवी खड्का, मोहन राना र भगवती शाही निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशबाट जनक चटौत, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, अम्बिकाकुमारी चलाउने, रीता शाही र इन्जिनियर भुवन भट्ट निर्वाचित भएका छन्।

सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा प्रतिनिधित्वअन्तर्गत सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, सुशील भट्ट, डा. आयुस बगाले, आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर सैलेश मिश्र निर्वाचित भएको विवरणमा उल्लेख छ।

जनसम्पर्क समिति र पेसागत क्षेत्रबाट चयन

जनसम्पर्क समितिका विभिन्न क्षेत्रबाट सीता सापकोटा घिमिरे, चन्द्रा अधिकारी, जितेन्द्रविक्रम शाही, सीए विद्या भूषण कार्की, पुरुषोत्तम खनाल, डा. बलराम श्रेष्ठ र बालकृष्ण पाण्डे निर्वाचित भएका छन्।

पेसागत विषयक्षेत्र खुलातर्फ डा. केदारनरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला निर्वाचित भएका छन्। पेसागत विषयक्षेत्र महिलातर्फ डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित भएका छन्।

श्रमिक, काठमाडौं उपत्यका, प्रजातन्त्र सेनानी, सहिद तथा द्वन्द्व प्रभावित परिवारका तर्फबाट पनि केन्द्रीय सदस्य चयन भएका छन्। श्रमिक खुलातर्फ खिलानाथ दाहाल र योगेन्द्रकुमार कुँवर तथा श्रमिक महिलातर्फ सीतादेवी काफ्ले निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाट मोहनबहादुर बस्नेत, प्रजातन्त्र सेनानीबाट सत्यनारायण माझी थारू, सहिद परिवारबाट बालकृष्ण दाहाल र द्वन्द्व प्रभावित परिवारबाट जनार्दन अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक दसैँपछि बस्ने तयारी गरिएको छ।