

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह स्थगित गर्ने निर्णय गरेको छ। देश बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला उत्सवका कार्यक्रम गर्नु उपयुक्त नहुने निष्कर्षसहित कांग्रेसले चियापान नगर्ने निर्णय गरेको हो।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै यस वर्षको कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना नगरिने जानकारी दिएका छन्।
विज्ञप्तिअनुसार भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने बूढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण देशले दुःखद परिस्थिति सामना गरिरहेका बेला चियापान समारोह आयोजना गर्नु उपयुक्त नहुने पार्टीको ठहर छ।
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको चियापान समारोहलाई आपसी सद्भाव, शुभकामना आदानप्रदान र राजनीतिक सहकार्यको परम्पराका रूपमा लिने गरिएको छ।
कांग्रेसका संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरेका थिए। आपसी सद्भाव अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त परम्परालाई कांग्रेसले केही वर्ष विशेष परिस्थितिका कारण रोकिए पनि प्रायः हरेक वर्ष निरन्तरता दिँदै आएको थियो।
तर, यस वर्ष प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएको र पीडित परिवार शोकमा रहेकाले पार्टीले परम्परागत कार्यक्रम नगर्ने निर्णय गरेको जनाएको छ।
यसैबीच कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुभन्दा शान्त, संयमित र सादगीपूर्ण रूपमा परिवारभित्र सीमित रहेर मनाउन आग्रह गरेका छन्।
कांग्रेसले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै वर्तमान परिस्थितिमा सबैलाई संयमित र जिम्मेवार व्यवहार अपनाउनसमेत अनुरोध गरेको छ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको पीडा र शोकलाई मध्यनजर गर्दै कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने निर्णय गरेको हो।