एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक बन्यो रेड बुल, तीन संस्करणका लागि सम्झौता

एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक बन्यो रेड बुल, तीन संस्करणका लागि सम्झौता

काठमाडौं । रेड बुल एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को आगामी तीन संस्करणका लागि मुख्य प्रायोजक बनेको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्राइभेट लिमिटेडले आइतबार रेड बुलसँग तीन संस्करणका लागि प्रायोजन सम्झौता भएको घोषणा गरेको हो।

यस सहकार्यबाट नेपाली महिला भलिबलको प्रवर्द्धन गर्नुका साथै लिगलाई थप व्यावसायिक, प्रतिस्पर्धात्मक र आकर्षक बनाउने आयोजकको लक्ष्य छ। सम्झौताले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर विस्तार गर्न तथा महिला खेलकुदको व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरस बेभरेजेज (रेड बुल नेपाल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली भलिबलसँग जोडिन पाउनु गौरवको विषय भएको बताए। महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर र पहिचान दिलाउने लिगसँगको सहकार्यले नेपाली खेलकुदप्रतिको कम्पनीको प्रतिबद्धता थप बलियो बनाउने उनको भनाइ छ।

‘यो केवल एउटा सिजनको साझेदारी होइन, आगामी तीन संस्करणसम्मको दीर्घकालीन सहकार्य हो। यसले नेपाली खेलकुद र यहाँका प्रतिभाप्रतिको हाम्रो विश्वासलाई दर्शाउँछ,’ सिलवालले भने।

महिला भलिबलको विकासमा नयाँ अवसर

लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले रेड बुलसँगको सहकार्यले प्रतियोगिताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

रेड बुलको अन्तर्राष्ट्रिय पहिचान र खेलकुद क्षेत्रको अनुभवबाट खेलाडीका लागि थप अवसर सिर्जना गर्न तथा देशभरका किशोरीलाई खेलकुदमा आकर्षित गर्न सहयोग पुग्ने उनले बताइन्।

साझेदारीसँगै खेलाडीलाई उपलब्ध गराइने सहयोग विस्तार गर्ने, खेल अनुभव सुधार गर्ने तथा दर्शक र सञ्चारमाध्यमसँगको सम्बन्ध सुदृढ बनाउने योजना आयोजकले अघि सारेको छ।

यस सहकार्यले नेपाली महिला भलिबलको लोकप्रियता बढाउनुका साथै प्रतिभाशाली खेलाडीको पहिचान, महिला खेलकुदमा लगानी वृद्धि र प्रतियोगिताको दीर्घकालीन व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तेस्रो संस्करणको मिति अझै तय भएन

एभरेस्ट महिला भलिबल लिगका पहिलो दुई संस्करणको उपाधि कर्णाली यशविजले जितेको थियो। प्राविधिक कारणले स्थगित गरिएको लिगको तेस्रो संस्करणको नयाँ मिति भने अझै तय भएको छैन।

तीन संस्करणका लागि भएको मुख्य प्रायोजन सम्झौताले प्रतियोगिताको आगामी यात्रा र नेपाली महिला भलिबलको विकासमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढाएको छ।