

काठमाडौँ । देशका विभिन्न सात जिल्लामा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाले ज्यान गुमाएका हुन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दुर्घटनामा परी सिन्धुलीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य जिल्लामा भएका दुर्घटनामा थप छ जनाको ज्यान गएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा आज बिहान को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमध्ये खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राईसहित तीन जना रहेका छन्।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पतालमा तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ।
उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा०१–००६ ख ६८४४ नम्बरको विद्युतीय गाडी (इभी) एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ। उनी कटारी नगरपालिका–५ कै बासिन्दा हुन्।
धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ। ज११प ३०५८ नम्बरको मोटरसाइकल र मप्र०२–००९ प ११५७ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ।
यसैगरी, रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ।
रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा आज बिहान अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको छ। घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो दुर्घटना हुँदा माडी गाउँपालिका–१ घोर्नेटीकी भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ।
पछिल्लो २४ घण्टामा भएका यी दुर्घटनाले सडक सुरक्षाको चुनौती पुनः उजागर गरेका छन्। सवारी साधन चलाउँदा गति नियन्त्रण, सावधानी र ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकता घटनाले देखाएका छन्।