

काठमाडौं । कमिल मिशाराको कीर्तिमानी शतक र बलरहरूको घातक प्रदर्शनमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा जित निकाल्दै चितवनले उपाधि यात्रालाई कायम राखेको हो।
चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ। लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित शतकको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो।
काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। भीम सार्कीले अविजित ३० तथा सहान अराचिगेले २४ रन जोडे। रासिद खानले १२ रन बनाए।
ओपनर साहिल पटेल दोस्रो ओभरमै दुई रनमा आउट भए। त्यसपछि बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे। तर हिजलेट पाँचौँ ओभरमा व्यक्तिगत तीन रनमा आउट हुँदा काठमाडौंले ३० रनमा दोस्रो विकेट गुमायो।
बोसिस्टोले रासिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे। तर बोसिस्टो, रासिद र सहानको विकेट गुमाएपछि काठमाडौं ९२ रनमा ६ विकेट गुमाएको अवस्थामा पुग्यो।
त्यसपछि पनि काठमाडौंले ठूलो साझेदारी गर्न सकेन। कप्तान करण केसी र जहानदाद खान समान एक रनमा आउट भए। सोनु देवकोटाले ६ तथा सन्तोष यादवले १० रन बनाए। दशौँ नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले १७ बलमा तीन छक्का प्रहार गर्दै अविजित ३० रन जोडे। चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए। उसामा मिरले चार ओभरमा १५ रन दिएर तीन विकेट लिए। कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट हात पारे।
चितवनका कमिल मिशाराले ५९ बलमा पाँच चौका र १० छक्कासहित अविजित १२० रन बनाए। यो एनपीएलमा उनको कीर्तिमानी व्यक्तिगत स्कोर हो। यससँगै उनले करियरको तेस्रो टी–२० शतक पूरा गरे। चितवनका लागि यो एनपीएलमा अहिलेसम्मकै उच्च टिम योगफल पनि हो। यसअघि यसै सिजन लिग चरणमा काठमाडौंविरुद्ध बनाएको १७० रन चितवनको उच्च योगफल थियो। उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो।
मिशाराले कप्तान रवि बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको शतकीय साझेदारी गरे। यो एनपीएलमा चितवनको अहिलेसम्मकै ठूलो साझेदारी हो भने प्रतियोगिताकै तेस्रो ठूलो साझेदारी हो। यसअघि पहिलो विकेटका लागि मिशाराले देव खनालसँग २२ रन जोडेका थिए। चौथो ओभरमा काठमाडौंका कप्तान करण केसीले देव र डाविड मालानलाई लगातार बलमा आउट गरेपछि चितवन २२ रनमा दुई विकेट गुमाएको अवस्थामा पुगेको थियो। देवले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए भने मालान पहिलो बलमै क्याच आउट भए।
त्यसपछि मिशारा र बोपाराले चितवनको इनिङ्स सम्हाले। १९औँ ओभरको तेस्रो बलमा रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी टुटेको थियो। बोपाराले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए। यो उनको यस सिजनको दोस्रो अर्धशतक हो।
त्यसपछि विवेक यादवले तीन बलमा दुई चौकासहित आठ रन जोडे। काठमाडौंका करण केसी र रासिद खानले दुई–दुई विकेट लिए। यस सिजन एनपीएलमा कुनै पनि टोलीले २०० रनभन्दा बढी बनाएको यो तेस्रो अवसर हो। यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमाडौं गोर्खाजविरुद्ध २२४ रन बनाएको थियो।